राजनीति

‘निर्वाचन नेताको मात्र होइन, जनताको पनि परीक्षा हो’



हाम्रो देश नेपालमा आज आम निर्वाचन हुंदैछ । जान्नेलाई छान्ने की मान्नेलाई छान्ने, हाम्रालाई छान्ने की राम्रालाई छान्ने सार्वभौम जनताको हातमा छ । नेपाली जनतालाई आज ठूलो धर्मसंकट पनि छ । एकातर्फ हराउनै नहुनेबीचमा प्रतिष्पर्धा छ भने अर्कोतर्फ जिताउनै नहुनेबीचमा पनि कडा प्रतिष्पर्धा छ । तर हामीले हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउनु हुंदैन । यो निर्वाचन नेताको मात्र नभई जनताको पनि परीक्षा हो ।

देश सम्वेदनशील मोडमा पुगेको छ । हामीलाई अहिले सामाजिक, आर्थिक, राजनैतिक र भुराजनैतिक समस्यालाई सामधान गर्न सक्ने नेतृत्व चाहिएको छ । राजनीतिले देशलाई निकाश दिन सकेन भने गैर राजनीतिले राजनीतिलाई लिक बाहिर फालिदिन सक्छ । त्यसलाई पुनः लिकमा ल्याउन दशकौं लाग्छ । राजनीतिलाई रंगमन्च र कन्सर्ट जस्तो बनाइयो भने देश थप दुर्घटनामा जान सक्छ ।

पूरा देश एउटा व्यक्तिलाई देवता र अर्कोलाई दानव देखाउने दौडमा छ । यी दुवै अतिबादले देशलाई थप अस्थिरता तर्फ लैजाने खतरा हुन्छ । जनता संधै मध्यमार्गी बन्नु जरूरी छ । लम्पसारबाद र उग्र राष्ट्रबाद दुबैले कुनै पनि राष्ट्रलाई अग्रगमन तर्फ लैजान सक्दैनन् । साथै आज सम्म आआफ्ना पार्टीका कुरा गरे पनि हामी बीचको सामाजिक सम्बन्ध बिगार्नु हुंदैन । किनभने भोलिबाट छरमिमेकमा बोल्नै पर्छ । अैंचो पैचो चलाऊनै पर्छ । जन्ति मलामी जानै पर्छ । बिहान बेलुकी खानै पर्छ ।

अब हामीले यो देशलाई हाम्रा सन्ततीलाई बस्न लायक बनाउनु छ । विदेशमा भएका नेपालीहरू लाई पनि स्वदेशमा फर्काउनु पर्नेछ । बाटो बन्यो । बिजुली बन्यो । अब उत्पादन र रोजगारी सृजना गर्नुछ । हाम्रो उदेश्य केवल पार्टी र व्यक्तिको मात्र परिवर्तन हैन राजनैतिक व्यवस्थासंगै देश र जनताको अवस्थामा पनि परिवर्तन गर्न सक्नु पर्दछ ।

राजनीतिमा राम्रो व्यक्ति भनेको अनुहार र जिउडाल हैन, देश प्रतिको ईमान्दरी र जनता प्रतिको जिम्म्वारी हो । तपाईले भोट दिने नेताले तपाईको विश्वास र भरोषा बोक्न सक्छन् र देश र जनता प्रति कहिल्यै पनि धोका दिंदैनन् भन्ने सुनिष्चितता हुनु जरूरी छ । साथै एआईको दुनियामा सक्कली भन्दा नक्कली राम्रो देखिन्छ । अहिलेको प्रमुख चुनौति भनेको सक्कली र नक्कलीलाई छुट्याउन सक्नु पनि हो ।

अहिलेका प्रत्यासीहरू पार्टीका उमेदवार मात्र नभै विजयी भएपछि सम्पूर्ण निर्वाचन क्षेत्र कै जनप्रतिनिधी हुन । जिल्लाको विकास र राष्ट्रको निकास गर्न सक्ने योग्य र अनुभवी उमेदवारलाई मतादान गर्नु जरूरी छ । अब बन्ने नयां सरकारले असन्तोषले जन्माएको आक्रोष भित्र लुकेको आशालाई तुरून्तै सम्बोधन गर्न सक्नु पर्दछ ।

बहुमतको सरकार राजनैतिक स्थिरताको पहिलो सर्त हो । तर स्थिरता बहुमतले मात्र हैन राजनैतिक परिपक्वता र देश प्रतिको ईमान्दारिताले कायम गर्ने हो । बहुदलीय व्यवस्थामा दलहरू मिलेर अगाडि बढ्नु पर्नेमा मिल्नै हुंदैन भन्ने भाष्य सृजना गर्न खोजिएको देखिन्छ । देश बनाउने कुरामा पनि सत्ता पक्ष र प्रतिपक्षको तानातान देखिन्छ । यो प्रवृति नै अहिलेको हाम्रो प्रघान सत्रू हो ।

नेपालको भूराजनीति अति सम्बेदनशील छ । यहांको भूमी कुनै देश बिरूद्ध प्रयोग भयो भने नेपाल अन्तराष्ट्रिय युद्ध मैदान बन्न सक्छ । नेतृत्वले युद्धलाई राजनीतिले भन्दा कुटनीतिले रोक्न सक्नु पर्दछ । अहिले मध्यपूर्वमा भएको युद्धले पनि त्यही सन्देश दिएको छ ।

कुनै पनि नेताले जनमतको दुरूपयोग गर्छ भने आधा दोष नेता र आधा दोष तपाई हामी जनताको पनि हुन्छ । यो निर्वाचन व्यक्ति जिताउने भन्दा देशलाई जिताउने प्रतिष्पर्धा हो । ब्यक्ति जो सुकै जिते पनि देशले हार्नु हुंदैन । हामी सबैले ब्यक्ति भन्दा माथि देशलाई सम्झेर मतादान गर्नु पर्दछ । आज हामीले देश र जनतालाई सर्वोपरी राखी आफ्नो अमूल्य मत प्रदान गर्नु जरूरी छ ।

सम्पादकीय