राजनीति

रास्वपा लुम्बिनीका विभाग प्रमुखद्वारा पार्टी परित्याग



बुटवल, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं लुम्बिनी प्रदेश नवप्रवर्तन तथा स्टार्टअप विभाग प्रमुख ओम पौडेलले पार्टीका सबै जिम्मेवारीसहित साधारण सदस्यताबाट समेत राजीनामा दिएका छन् ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को निवर्तमान सभापतिसमेत रहेका पौडेलले बिहीबार पार्टीका महामन्त्रीलाई सम्बोधन गर्दै आफ्नो राजीनामा पत्र बुझाएका हुन् । उनले निर्वाचनको मतदान र परिणामसँगै आफ्नो तत्कालीन राजनीतिक कर्तव्य पूरा भएको महसुस गर्दै अबदेखि स्वतन्त्र नागरिक भएर बस्ने निर्णय लिएको बताएका छन् ।

राजनीतिलाई फोहोरी खेलको संज्ञा दिँदै उनले रास्वपाभित्रै पनि दोहोरो चरित्र देखाउने र पदका लागि मरिहत्ते गर्ने व्यक्तिहरू देख्दा दुःख लागेको उल्लेख गरेका छन् । पार्टीभित्र रहेर धेरै साथीभाइको माया कमाएको भए पनि कसैलाई जानकारी नै नदिई स्वविवेकले राजीनामा दिएको भन्दै उनले सहयात्रीहरूसँग क्षमा समेत मागेका छन् ।