काठमाडौँ, २३ फागुन । कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन परिणाम कांग्रेसका लागि प्रतिकूल रहे पनि अप्रत्याशित नभएको बताएका छन् ।
उपसभापति शर्माले शुक्रबार भिडियो सन्देश जारी गर्दै पार्टीका कार्यकर्ता र शुभचिन्तकलाई सम्बोधन गर्दै शर्माले विगतका कमजोरी पहिचान गरी एकताबद्ध भएर पार्टी नयाँ ऊर्जाका साथ अघि बढ्ने बताएका छन् । उनले निर्वाचन परिणामको केन्द्रीय कार्यसमितिको बैठक बोलाएर गहन समीक्षा गरिने पनि जनाएका छन् । निर्वाचनपछि पार्टीले सरकारको नेतृत्व गर्नुपर्ने वा पूरै समय प्रतिपक्षमा बस्नुपर्ने विकल्पमध्ये एक रोज्नुपर्नेमा त्यसो नगरी सत्तामा गएको र सरकार सञ्चालनमा कमीकमजोरी भएको उनले बताए ।
उनले भने, ‘निर्वाचन परिणाम प्रतिकूल आयो । तर, अप्रत्याशित होइन । गहिराइमा गएर समीक्षा गर्न चाँडै केन्द्रीय कार्यसमितिको बैठक बोलाइनेछ । २०७९ को स्थानीय तह निर्वाचनमा धरान, काठमाडौँ र धनगढीबाट मतदाताले दललाई बदल्न्र भन्ने सन्देश दिए । तर पार्टीले अपेक्षित गतिमा सम्बोधन गर्न सकेन । बरु मतदाताको रुष्टतालाई मतमा बदल्न त्यही मौका छोपेर नयाँ दल रास्वपा स्थापना भयो । रास्वपाले छोटो समयमा जुन सिट ल्यायो । त्यो अर्को सन्देश थियो । सरकारको कामकारबाहीमा र गतिमा प्रगति गर्न कमजोरी रह्यो । समग्रतामा अनेक निराशा र प्रश्न आए । त्यसलाई विद्रोहमा लग्यो ।’
शर्माले जेन–जी विद्रोहपछि पनि अपेक्षित गतिमा परिवर्तन गर्न नसकेको र विशेष महाधिवेशनबाट नीति तथा नेतृत्वमा परिवर्तन गरे पनि त्यसलाई नागरिकसम्म पुर्याउन नसकेको स्वीकार गरे । ‘विशेष महाधिवेशनले नीति र नेतृत्वमा परिवर्तन गर्यो । तर, विशेष महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व आएको ५० दिनमा निर्वाचन भयो । त्यसमार्फत जे परिवर्तनको सुरुवात गरेका थियौं, समाजका विषयवस्तु, प्रश्न, गुनासोलाई डकुमेन्टमा लेख्यौं, तर नागरिक पंक्तिमा राम्रोसँग लैजान सकेनौं, लोकप्रियतावादलाई पनि चिर्न सकेनौं,’ उनले भने ।
उपसभापति शर्माले निर्वाचन परिणामलाई बाह्य र आन्तरिक कारणको गहन पहिचान गरी कमजोरी केलाउने र नयाँ जीवनका साथ अघि बढ्ने बताए । उनले लोकतान्त्रिक अभ्यासबाट आएको परिणामलाई आत्मसात् गर्दै संयमता, एकता र ऊर्जा राख्न पार्टीका सबैलाई आह्वान गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्