राजनीति

प्रधानमन्त्री कार्की र यूएईका राष्ट्रपतिबीच टेफिफोन संवाद



काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति हिज हाइनेस शेख मोहमद बिन जायद अल नाह्यानसँग टेलिफोन संवाद गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले पवित्र रमजानका अवसरमा शान्ति, न्याय र सद्भावका लागि हार्दिक शुभकामना व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले यूएईको सार्वभौम क्षेत्रमा नागरिक पूर्वाधारलाई समेत लक्षित गरी गरिएका आक्रमणहरूको निन्दा गर्दै यस विषम परिस्थितिमा यूएईलाई नेपालका तर्फबाट ऐक्यबद्धता व्यक्त गरिन् । 

प्रधानमन्त्री कार्कीले यस परिस्थितिमा सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयम अपनाउन, तनावलाई थप नबढाउन र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह पनि गरिन् । युद्ध कहिल्यै शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै उले कूटनीति र संवादको माध्यमबाट मात्र दिगो शान्ति सम्भव हुने बताउँदै नेपालले परिस्थिति सकेसम्म चाँडो सामान्य अवस्थामा फर्कने अपेक्षा पनि व्यक्त गरिन् । 

सार्वजनिक सुरक्षा सुनिश्चित गरकोमा र त्यहाँ काम गर्ने तथा बसोबास गर्ने नेपाली नागरिकहरूसहित सबै बासिन्दा, आगन्तुक र ट्रान्जिटमा रहेका मानिसहरूको समान रूपमा हेरचाह गरेकोमा युएई सरकारप्रति हार्दिक आभार व्यक्त गरिन् । १ मार्च २०२६ मा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीका क्रममा एकजना र ५ मार्च २०२६ मा अबुधाबीको आईसीएडी क्षेत्रमा दुईजना नेपाली घाइते भएकोप्रति दुःख जताइन् ।

तत्कालका लागि नेपाली नागरिकको सुरक्षा चिन्ता र दीर्घकालीन रूपमा बढ्दो इन्धन मूल्य, लगानी प्रवाहमा संकुचन र बढ्दो मुद्रास्फीति सहित व्यापक आर्थिक दबाबहरूको सामना गरिरहनुपरेको बताइन् । यूएईका राष्ट्रपतिले यस विषम परिस्थितिमा नेपालले एक असल मित्रराष्ट्रका रूपमा प्रस्तुत गरेको ऐक्यबद्धता र सहानुभूतिप्रति प्रधानमन्त्री कार्कीलाई धन्यवाद व्यक्त गरे । 

नेपाल र युएईबीच कायम रही आएको सुमधुर र मित्रवत् सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै नेपालीको मिहिनेती बानी र असल आचरणको प्रशंसा गरिन् । यसका साथै संवादका क्रममा युएईका राष्ट्रपतिले दुवै मुलुकका राजदूतहरुले नेपाली नागरिकको सुरक्षा तथा हित संरक्षणका लागि सक्दो प्रयास गरिरहेको बताए । साथै, नेपालीहरूको सुरक्षाको प्रत्याभूतिका लागि सबै किसिमको पहल गर्न आफू तत्पर रहेको कुरा पनि बताए ।