राजनीति

महिला सशक्त भएमा राष्ट्र नै समृद्धिका मार्गमा अगाडि बढ्छ : राष्ट्रपति पौडेल



काठमाडौँ, २४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैलाई आह्वान गर्नुभएको छ ।

एक सय १६औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले परम्पराका नाममा समाजमा रहेका खराब अभ्यास एवं प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्नेजस्ता प्रथालाई निर्मूल गर्न थप प्रभावकारी एवं सिर्जनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

सन्देशमा भनिएको छ, “जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिला सशक्त भएमा सिङ्गो परिवार, समाज र समग्र राष्ट्र नै समृद्धिको मार्गमा अगाडि बढ्ने हुँदा यसतर्फ विशेष ध्यान पुर्याउन जरूरी छ ।”

संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त, राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवं निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाहरूको पहुँच समान रूपमा सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएको छ ।