विश्व

तेलको मूल्य घटाउन सीमित प्रतिबन्ध फुकुवा गर्ने ट्रम्पको घोषणा



एजेन्सी, २६ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी रूपमा बढिरहेको तेलको मूल्य कम गर्न तेलसँग सम्बन्धित केही निश्चित प्रतिबन्ध फुकुवा गर्ने बताएका छन् ।

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेयता तेलको मूल्यमा भारी वृद्धि भएसँगै उपभोक्ताले इन्धनका लागि बढी शुल्क तिर्नुपरेको छ । यद्यपि, ट्रम्पले कुन–कुन प्रतिबन्धहरू हटाइनेछन् भन्नेबारे स्पष्ट खुलाएका छैनन् । उनले यति मात्र भने, “हामीले केही देशहरूमाथि प्रतिबन्ध लगाएका छौँ । यो स्थिति नसुध्रिएसम्म हामी ती प्रतिबन्ध हटाउनेछौँ ।”

इरान र रुस विश्वकै सबैभन्दा धेरै प्रतिबन्ध झेलिरहेका देशहरू हुन् । र, यी दुवै राष्ट्र तेलका धनी मानिन्छन् । हालै मात्र अमेरिका र भारतबीच भएको एक व्यापार सम्झौतापछि ट्रम्पले भारतलाई रुसबाट थप तेल आयात गर्न छुट दिएका थिए । उक्त सम्झौता भारतले त्यहाँबाट तेल खरिद कटौती गर्ने सर्तमा आधारित थियो ।

इरान युद्ध छिट्टै समाप्त हुन सक्छ 

अमेरिका, इजरायल र इरानबीचको द्वन्द्व दोस्रो हप्तामा प्रवेश गरिरहँदा राष्ट्रपति ट्रम्पले इरानसँगको युद्ध छिट्टै समाप्त हुन सक्ने बताएका छन् ।

‘अमेरिकी सैन्य कारबाही यसै हप्ता वा केही दिनभित्रै टुंगिने अपेक्षा गर्नुहुन्छ ?’ भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले इरान युद्ध छिट्टै सकिने बताएका हुन् ।

“हेर्नुहोस्, उनीहरूको नेतृत्वलगायत उनीहरूसँग भएका सबै थोक समाप्त भइसकेका छन्,” ट्रम्पले भनेका छन्, “त्यहाँ नेतृत्वका दुई तहहरू थिए । र, अहिले देखिएअनुसार, त्योभन्दा पनि बढी थिए । तर, नेतृत्वका दुईवटै तहहरू समाप्त भइसकेका छन् ।”

अमेरिका–इजरायलको हवाई आक्रमणमा मारिएका पूर्वसर्वोच्च नेता अली खामेनेईका माइला छोरा मोजतबा खामेनेईलाई उनका पिताले करिब चार दशकसम्म सम्हालेको पदमा नियुक्त गरिएलगत्तै ट्रम्पको यो टिप्पणी आएको हो ।

इरानले मध्यपूर्व कब्जा गर्न लागेको थियो’ 

यसैबीच, ट्रम्पले अमेरिका र इजरायलले पहिले आक्रमण नगरेको भए इरानले पूरा मध्यपूर्व कब्जा गर्ने तयारीमा रहेको दाबी गरेका छन् ।

“इरान धेरै शक्तिशाली देश हो । उसले पूरा मध्यपूर्व कब्जा गर्न लागेको थियो । हामीले उनीहरूमाथि प्रहार नगरेको भए, उनीहरूले पूरा मध्यपूर्व आफ्नो नियन्त्रणमा लिने थिए,” फ्लोरिडामा आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पले भने । यस्तो टिप्पणी उनले आइतबार एबीसी न्युजसँग कुरा गर्दा पनि गरेका थिए ।

ट्रम्पले इरानका धेरैजसो क्षेप्यास्त्र र अन्य हतियार अहिले ध्वस्त भइसकेको बताएका छन् । उनका अनुसार ती हतियार यस द्वन्द्वसँग कुनै सम्बन्ध नभएका मध्यपूर्वी देशहरूतर्फ लक्षित थिए ।

ट्रम्पले इरानले इजरायललाई पनि ध्वस्त पार्ने प्रयास गरिरहेको बताउँदै अमेरिकाले सही समयमा हस्तक्षेप गरेर त्यसलाई रोकेको दाबी गरे ।

पुटिनसँग फोनवार्ता

ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग राम्रो कुराकानी भएको बताएका छन् । कुराकानीमा पुटिनले मध्यपूर्वको मामिलामा आफू सहयोगी बन्न चाहेको ट्रम्पले बताएका छन् । ट्रम्पले मध्यपूर्वमा बढ्दै गएको युद्धबारे छलफल भएको र पुटिनले सहयोग गर्ने इच्छा देखाएको बताए । इरान द्वन्द्व सुरु भएयता पुटिनसँगको यो पहिलो कुराकानी हो । 

ट्रम्पले युक्रेन युद्धलाई कहिल्यै अन्त्य नहुने लडाइँको संज्ञा दिएका छन् । तर, सो विषयमा भएको कुराकानी सकारात्मक रहेको उल्लेख गरे ।

विश्वभरका द्वन्द्व अन्त्य गर्न आफ्नो भूमिका रहेको दाबी गर्दै आएका ट्रम्पले युक्रेन र रुसबीचको शान्ति प्रक्रिया भने आफ्नो प्रयासका बाबजुद सफल हुन नसकेकामा पटकपटक असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।