काठमाडौँ, २६ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेका ९८ प्रकारका अत्यावश्यक औषधि पूर्ण रूपमा स्वदेशमै उत्पादन गर्न नेपाली औषधि उद्योगीहरूलाई आग्रह गरेको छ ।
आज स्वास्थ्य पत्रकार मञ्च नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका नीति, योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले स्वदेशी उद्योगहरूले यसलाई सामाजिक उत्तरदायित्वका रूपमा लिएर उत्पादन र आपूर्तिमा सहजीकरण गर्नुपर्ने बताएका छन् ।
उनका अनुसार हाल नेपालको आन्तरिक उत्पादनले कुल मागको करिब ४० देखि ५० प्रतिशत मात्र धानिरहेको छ । स्वदेशी उद्योगहरूले उत्पादन क्षमता बढाएर बाहिरबाट आयात हुने औषधिलाई प्रतिस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, “हामीलाई सस्तो, गुणस्तरीय र पर्याप्त औषधि चाहिएको छ । पहिलो चरणमा सरकारले तोकेका ९८ प्रकारका अत्यावश्यक औषधि स्वदेशी उद्योगले नै उत्पादन गरिदिउन् भन्ने मन्त्रालयको चाहना छ । यसले स्थानीय गाउँ तहसम्म सर्वसुलभ रूपमा औषधि पुर्याउन सहयोग गर्छ । अहिले ४०–४५ वटा औषधि मात्र आफैं बनाउन सक्छौँ भनेर बस्ने होइन, क्षमता विस्तार नगरी बाहिरबाट आउने औषधिलाई प्रतिस्थापन गर्न सकिँदैन ।”
सामाजिक उत्तरदायित्व वहन गर्दै सुलभ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराए राज्यले उद्योगीहरूलाई पूर्ण सहयोग गर्ने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्