काठमाडौँ, २७ फागुन । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा सदस्यको निर्वाचन परिणाम अप्रत्याशित भएको बताएका छन् ।
आज पार्टीबाट राष्ट्रियसभामा नवनिर्वाचित सदस्य र बहालवाला सदस्यबीचको परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले चुनावी नतिजा अपेक्षाभन्दा फरक आएको बताएका हुन् ।
उनले भने, “यो नतिजा अप्रत्याशित लाग्यो मलाई । तथापि, पार्टीभित्र छलफल गर्न बाँकी छ । पुराना दलहरूको हैसियत उस्तैउस्तै देखिन्छ । कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, त्यस्तै मधेसकेन्द्रित दलहरू सबै पुराना दलहरूका लागि यो अप्रत्याशितजस्तो नै देखिन्छ ।”
कांग्रेस, एमाले, नेकपा तथा मधेसकेन्द्रित दलहरूका लागि यो परिणाम केही हदसम्म अप्रत्याशित देखिएको उनको भनाइ छ । उनले निर्वाचन परिणामबारे पार्टीभित्र थप छलफल हुन बाँकी रहेको उल्लेख गरे ।
साथै, उनले हाल निर्वाचित भएर आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले देश र जनताको हितमा कस्तो काम गर्छन् भन्ने विषयले आगामी राजनीतिक दिशालाई प्रभाव पार्ने बताए ।










प्रतिक्रिया दिनुहोस्