Banner News

आजको मौसम



काठमाडौँ, ३० फागुन । हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार अहिले बागमती र गण्डकी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थान तथा बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागलगायत बाँकी प्रदेशको हिमाली भूभागका थोरै स्थान तथा कोशी प्रदेशको तराईलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । महाशाखाका अनुसार देशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ ।