राजनीति

विद्यालय र अस्पतालको खाद्य स्वच्छतामा कडाइ गर्दै कामपा



काठमाडौँ, ३० फागुन । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्न थालेको छ ।

कामपाले उपभोक्ताई खाद्य स्वच्छता कायम गराउन खाद्य व्यवसायीलाई क्षमता विकासका कार्यक्रम र अनुगमनलाई एकसाथ अगाडि बढाउन थालिसकेको कामपाको खाद्य प्राविधिक भारती अधिकारीकारीले जानकारी दिइन् । अधिकारीका अनुसार क्रममा महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सामुदायिक विद्यालयका क्यान्टिन र अस्पतालका क्यान्टिनहरूमा अनुगमन नियमितजस्तै गरिरहेको छ ।

कामपाले बालबालिकाको स्वास्थ्य, पोषण र दिवा खाजा कार्यक्रमको गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयका २३ मिल नर्ससहित ४५ जनालाई खाद्य स्वच्छता तथा पोषणसम्बन्धी तालिम दिइसकेको छ । कामपाको खाद्य प्राविधिक अधिकारीका अनुसार खाद्य स्वच्छता अभ्यास, खाद्यजन्य रोगको जोखिम, सुरक्षित खाना ह्यान्डलिङ, पोषणयुक्त दिवा खाजाको व्यवस्थापन तथा रोग रोकथाममा स्कुल नर्सको भूमिका तालिमका विषय थिए ।

अनुगमनका क्रममा कमजोरी सुधारका लागि सुझाव दिने र अखाद्य वस्तुको अनियन्त्रित प्रयोग भएको भेटिएमा सम्बन्धित व्यक्तिको रोहवरमा नष्ट गरीएको छ । विद्यालय क्यान्टिनमा सरसफाइमा लापर्वाही रहेको पाइएको छ । कपडा र खाद्यवस्तुसँगै राख्ने गरिएको पाइन्छ । खाद्यवस्तु नछोपी राख्ने, फोहर फाल्ने भाँडो (डस्टबिन) को समुचित प्रयोग नगर्ने, किचेनको संरचनागत सुधार नगरिएकोजस्ता कैफियत भेटिएको कामपाको भनाइ छ ।

क्यान्टिनमा प्रयोग गरिएको फ्राइड तेलको टिपिएम भ्यालु मापदण्डविपरीत समेत पाइएको बताइएको छ । खाद्यवस्तु ढाकेर नराख्ने, किचेनको भुइँ व्यवस्थापन र सरसफाइमा ध्यान नदिने, एकै ठाउँमा खाना तयार गर्ने र भाडा माझ्ने, आगो सुरक्षाका उपकरणमा ध्यान नदिने साझा समस्या हुन् ।