काठमाडौँ, ३ चैत । नेपालको अध्यागमन प्रशासनले विभिन्न अपराध अभियोग लागेका करिब १३ हजार व्यक्तिलाई कालोसूचीमा समेटेको छ ।
नेपालमा अपराध गरेर विदेश भागेका, विदेशमा अपराध गरेर नेपाल छिरेका र विभिन्न अदालतको फैसलापछि सजाय भुक्तान गरिरहेकालाई अध्यागमनको कालोसूचीमा समेटिएको हो । सूचीमा पर्नेहरूमा करिब ८ हजार नेपाली र झन्डै ५ हजार विदेशी नागरिक छन् । ती व्यक्तिहरू अन्तर्राष्ट्रिय विमानस्थल र स्थल नाकाका अध्यागमन ‘चेकप्वाइन्ट’बाट वारपार गर्न पाउँदैनन् । यस्तै, २४ भदौमा भएको प्रदर्शनमा कारागार तथा बन्दीगृह र प्रहरी हिरासत कक्ष फोडेर भागेका ६ सय १२ कैदीबन्दी पनि यो सूचीमा समेटिएका छन् । जेलबाट भागेकामध्ये करिब ५ सय भारतीय र तेस्रो देशका १ सयभन्दा बढी व्यक्ति पक्राउ परेका छैनन् ।
उनीहरू हवाई माध्यमबाट तेस्रो देश भाग्न सक्ने सम्भावना देखिएपछि गत असोजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित पोखरा र गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानी बढाइएको विभागका अधिकारीले जानकारी दिए । यसबाहेक स्थल मार्गका अध्यागमन तथा सीमा प्रशासन कार्यालयबाट पनि उनीहरूको निगरानी जारी राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्