पोखरा, ३ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पोखरामा दुई दिने कार्यशाला सुरु गरिएको छ ।
गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखाको आयोजनामा एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन सुधार कार्यशाला सुरु गरिएको हो । कार्यशालामा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकार भएका निकायका प्रतिनिधि, शिक्षक, परीक्षा व्यवस्थापनमा संलग्न प्रतिनिधि तथा सम्बन्धित निकायका अधिकारीहरूको सहभागिता छ ।
कार्यशालाबाट तयार हुने प्रतिवेदनका आधारमा गण्डकी प्रदेश सरकारले शिक्षामा आफ्नो अधिकारअनुरूप काम अगाडि बढाउने र आवश्यक विषयमा केन्द्र सरकारलाई सिफारिस गरिने शिक्षा विकास महाशाखाका प्रमुख दामोदर सुवेदीले जानकारी दिए । कार्यशालालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले एसइई जस्तो महत्वपूर्ण राष्ट्रिय परीक्षालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी ढङ्गले सञ्चालन हुनुपर्नेमा जोड दिइन् ।
राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष डा महाश्रम शर्माले शिक्षाका क्षेत्रमा गण्डकी प्रदेशले आफ्नो अधिकारअनुसार प्रभावकारी काम गरिरहेको बताए । राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख सुभाष पन्तले एसइई परीक्षालाई प्रविधिमैत्री ढङ्गले व्यवस्थित गर्नतर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।










प्रतिक्रिया दिनुहोस्