समाचार

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो



काठमाडौँ, ३ चैत । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका भुरा छाडिएको छ ।

रुपाताल सहकारीले रजत वर्षको अवसर पारेर तालको आयआर्जनमा सहयोग पुग्ने गरी माछाका भुरा छाडिएको हो ।

रुपा गाउँपालिका र पोखरा महानगरपालिका–३२ मा पर्ने रुपाताल पुनः स्थापना तथा मत्स्यपालन सहकारी संस्थाले यस वर्षलाई रजत वर्षका रूपमा मनाउने योजनासहित तालमा विभिन्न जातका माछाका भुरा छाडिएको संस्थाका अध्यक्ष रामबहादुर थापाले जानकारी दिए ।

“विसं २०५८ मा ३६ जना शेयर सदस्यबाट सुरु गरिएको रुपाताल सहकारीले सफलतापूर्वक २५ वर्ष पार गरेको अवसरमा ‘प्राकृतिक सम्पदाको संरक्षण गरौँ, दिगो उत्पादनमा जोड दिउँ’ भन्ने मूल नाराका साथ यस वर्षलाई रजत वर्ष मनाउने घोषणा गरिएको हो”, अध्यक्ष थापाले भने ।

स्थापनाकालमा ३६ जना शेयर सदस्यको रु पाँच हजार शेयर पुँजीबाट एक लाख ८३ हजार ६०० बाट सञ्चालित संस्था अहिलेसम्म आइपुग्दा एक हजार ५१ शेयर सदस्यमार्फत रु चार करोड २० लाख ४० हजार शेयर पुँजी बनाउन सफल भएको उनले जानकारी दिए ।