काठमाडौँ, ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदका लागि दुईदिने आवासीय अभिमुखीकरण तालिम सुरु गरेको छ ।
ललितपुरको ग्वार्कोस्थित एक होटेलमा आज घण्टी बजाएर उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरिसकेका छन् ।
अस्वस्थ र कार्यव्यस्तताका कारण पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने अभिमुखीकरणमा सहभागी भएका छैनन् ।
कार्यक्रममा उपसभापति डा. स्वर्णिम वाग्लेले यसपटक रास्वपाले असाध्यै गह्रुंगो जनादेश पाएको बताउँदै यसलाई जोगाएर अगाडि बढ्नुपर्ने ठूलो चुनौती रहेको बताए ।
उनले भने, यसपटक असाध्यै गह्रुंगो जनादेश हामीले पाएका छौँ । यसलाई सम्हालेर, जोगाएर लैजानुपर्ने छ । लामो अस्थिरताको चक्रमा फसेको देशलाई माथि उठाउनुपर्ने छ,” ।
उनले यसअघि ०१५ मा कांग्रेस, ०६४ मा माओवादी र ०७४ मा एमालेले पनि अत्याधिक जनमत पाएको तर, जनताको अपक्षाअनुसारको काम गर्न नसकेको बताए । “०१५ सालमा कांग्रेसले दुईतिहाइ बहुमत ल्याएको थियो । त्यसपछि ०६४ मा माओवादी र ०७४ मा एमालेले ठूलो जनमत प्राप्त भयो । तर, पुराना राजनीतिक दलले काम गर्न सकेनन् । त्योभन्दा ठुलो जनमत हामीलाई प्राप्त भएको छ,” वाग्लेले भने ।










प्रतिक्रिया दिनुहोस्