बाँके, ४ चैत । नेपालगन्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय अब बाँकेको खजुराबाटै सञ्चालन हुने भएको छ ।
खजुरा गाउँपालिकाले आफ्नो स्वामित्वमा रहेको १० कट्ठा जग्गासहितको भवन विश्वविद्यालयलाई हस्तान्तरण गरेपछि अब विश्वविद्यालयको प्रशासनिक कामकाज खजुराबाट सञ्चालन हुने भएको हो । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले विश्वविद्यालयका उपकुलपति प्रा डा विनोद ढकाललाई भवन र जग्गाको स्वामित्वसम्बन्धी कागजात मंगलबार हस्तान्तरण गरे ।
गाउँपालिका अध्यक्ष विकले खजुरालाई शैक्षिक र स्वास्थ्यको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी देशको समृद्धिमा यो विश्वविद्यालय कोशेढुङ्गा साबित हुने उनले विश्वास व्यक्त गरे । उपकुलपति प्रा डा विनोद ढकालले अब छिट्टै खजुराबाटै विश्वविद्यालयका प्रशासनिक र प्राज्ञिक गतिविधि अगाडि बढ्ने जानकारी दिए ।
हाल यो विश्वविद्यालयले नेपालगन्जमा अस्थायी मुकाम बनाएर प्राविधिक, सूचना प्रविधि र इन्जिनियरिङका कक्षा सञ्चालन गरिरहेको छ । file photo










प्रतिक्रिया दिनुहोस्