राजनीति

निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो: प्रचण्ड



काठमाडौँ, ४ चैत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन् ।

बुधबार बिहान प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायतका नेताहरु प्रधानमन्त्री कार्कीको निमन्त्रणामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका थिए । भेटमा प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।

प्रचण्डले भनेका छन्, ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो । यसमा जुन साहस र मेहनतका साथ तपाईँले काम गर्नुभयो, यो निकै महत्वपूर्ण र प्रशंसालायक छ । हामीले सुरुबाटै निर्वाचनको विकल्प छैन भनेर उभिएका हौँ । इफ बट केही नभनी निर्वाचन हुनुपर्छ भन्ने त्यतिबेला हामी मात्रै थियौँ ।’

प्रधानमन्त्री कार्कीले नेताहरूसँग भनेकी छन्, ‘तपाईँहरुले निर्वाचनमा भाग लिइदिनुभयो । यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो । यसका निम्ति धेरै धन्यवाद छ ।’