समाचार

सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार



काठमाडौँ, ४ चैत । संखुवासभाबाट एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

मकालु गाउँपालिका–१ की २८ वर्षीया सरु राईको अवस्था अचानक गम्भीर बनेपछि हेलिकप्टरबाट उद्धार गरिएको हो ।

बुधबार बिहान ८ बजे जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएपछि राईको स्वास्थ्य अवस्था एक्कासि बिग्रिएको अस्पतालले जनाएको छ । अत्यधिक रक्तस्राव भएपछि उनको अवस्था झनै नाजुक बन्दै गएको थियो।

थप उपचारका लागि तत्काल विशेषज्ञ उपचार आवश्यक देखिएपछि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७७ अनुसार उद्धार प्रक्रिया अघि बढाइएको थियो ।

बिरामीलाई थप उपचारका लागि काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल ल्याउन सफल भएको हो ।