काभ्रेपलान्चोक, ६ चैत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन अनन्तले निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन नसकेको कारणबाट विचलित नहुन पार्टी पङ्क्तिलाई अपिल गरेका छन् ।
काभ्रेको अनेकोटमा २८औं शहीद सांस्कृतिक दिवसका अवसरमा बिहीबार आयोजित शहीदको प्रतिमा अनावरण तथा शहीद परिवार सम्मान कार्यक्रममा पुनले नेकपा धुलो टकटकाएर अघि बढ्ने बताए । जनआकांक्षा र मुलुकको आजको आवश्यकताअनुसार नेकपाले आफूलाई पुनर्गठन गर्ने भन्दै पुनले कुनै दिन फेरि मुलुकको नेतृत्व आफूहरूले गर्ने दाबी गरे । जनताले निर्वाचनमार्फत नयाँ भनिएका दलहरूलाई अभिमत प्रकट गरेर पुराना दल तथा नेतृत्वमाथि आफ्नो कार्यशैली तथा तौरतरिका बदल्न खबरदारी गरेको उनले बताए ।
उनले भने, ‘विचार, राजनीति, इतिहास केही नहुनेहरूले पनि आज आफूलाई नयाँ पार्टी झन्डै दुई तिहाइ प्राप्त गरेका छन् । जनताले उनीहरूलाई विश्वास गरेको छ । जनताको अभिमतलाई हामीले स्विकार्नुपर्छ । अर्कोतिर जनताले हामीलाई सच्चिनका लागि घचघच्याएको राम्रो अवसरका रूपमा लिनुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्