राजनीति

गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै



काठमाडौँ, ७ चैत । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्‍याएकाे योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी कोइरालाको १६ औँ स्मृति दिवस मनाउँदै छन् ।

चारपटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो । उनले नेपालमा माओवादी जनयुद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै तत्कालीन राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलन गरेका थिए । कोइरालाकै नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्रअनुरूप विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत भएका थिए । पुनःस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते राजाको सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रूपमा सीमित गरेको थियो ।

कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो । पहिलो संविधानसभा निर्वाचनसँगै सशस्त्र द्वन्द्वरत नेकपा माओवादी संसदीय बहुदलीय राजनीतिक प्रतिस्पर्धामा सहभागी भएको थियो ।