समाचार

वर्षाले उच्च रहेको प्रदूषण घट्यो



काठमाडौँ, ८ चैत । काठमाडौँसहित मुख्य शहरमा यसअघि उच्च रहेको प्रदुषण घटेको छ ।

वन डढेलो बढ्ने बेला पानी परेपछि डढेलो रोकिएको छ । अघिल्लो महिना फागुनमा काठमाडौँ विश्वकै प्रदूषित शहरको शीर्ष पाँचमा पर्दै आएकोमा पानी परेपछि प्रदूषण घटेको छ ।

आज बिहान काठमाडौँ विश्वको १६ औँ स्थानमा छ । काठमाडौँमा हावाको गुणस्तरमापन सुचक एक्यूआई बिहान ८८ रहेको छ । आजदेखि मौसममा सुधार आएको छ ।

त्यस्तै वर्षा र हिमपातले किसानलाई पनि राहत पुगेको छ । चिस्यानको अभाव झेलिरहेको बेला चैत पहिलो हप्ता देशका धेरै ठाउँमा पानी परेपछि राहत भएको हो ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा परेको बाक्लो हिमपातले जनजीवन केही प्रभावित भए पनि यसले बालीमा भने चिस्यान थपेको छ । कृषिबालीमा पर्याप्त पानी पुगेपछि अबको उत्पादनमा सुधार हुने किसानको अपेक्षा छ ।