राजनीति

उपराष्ट्रपति यादव र बङ्गलादेशका राजदूत रहमानबीच भेटवार्ता



काठमाडौँ, ९ चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर रहमानले शिष्टाचार भेट गरेका छन् ।

आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा उनीहरुबीच शुभकामना आदान–प्रदानसँगै द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षहरूबारे छलफल भएको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल–बङ्गलादेशबीच मित्रवत् एवं सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै हाम्रो सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान तथा विश्वासमा आधारित रहेको बताए । उनले बङ्गलादेशसँगको सम्बन्धलाई नेपालले उच्च महत्त्व दिँदै आएको बताए । उपराष्ट्रपति यादवले बङ्गलादेशमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा बधाई दिँदै नयाँ सरकारलाई शुभकामना दिए ।

भेटका क्रममा राजदूत रहमानले नेपाल–बङ्गलादेश सम्बन्ध आपसी विश्वासमा आधारित रहेको र जनता–जनताबीचको सम्बन्धमा निहित रहेको उल्लेख गरे । उनले वाणिज्य, शिक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिन सकिने बताउँदै हाल नेपालबाट ४० मेगावाट विद्युत् प्राप्त भइरहेकोमा यसलाई ६० मेगावाट पुर्‍याउन अनुरोध गरे ।