समाचार

मानव बेचबिखन तथा ओसारपसारको आरोपमा ८ जना पक्राउ



काठमाडौँ, १० चैत । सिरहामा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र यौन्धन्दा कार्यमा संलग्न रहेको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसारलहान नगरपालिका–८ मा बस्ने दिलीप साह र उनकी श्रीमती सुनिता साहले तीन जना महिलालाई फोन सम्पर्क गरी आफ्नै घरमा बोलाएर आर्थिक प्रलोभनमा पारी यौनधन्दामा लगाएको आरोपमा पक्राउ गरिएको छ । उनीहरूलाई जिल्ला अदालत सिरहाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

त्यस्तै लहान–३ स्थित अस्पताल चोकमा रहेको ‘अनलाइन होटल एण्ड लज’को सञ्चालिका ४० वर्षीया अर्चनाकुमारी चौधरीले चार जना महिलालाई होटलमा बोलाएर सप्तरीको सुरुङ्गा–९ टिकुलियाका २१ वर्षीय अशोक कुमार चौधरी, २० वर्षीय नितिक कुमार चौधरी र १९ वर्षीय आकाश चौधरीसँग मिलेर यौनधन्दामा लगाएको प्रहरीले जनाएको छ । यस घटनामा संलग्न चारै जनालाई ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीले धनगढीमाई नगरपालिका ११ स्थित खुश्बु होटल एन्ड लजका सञ्चालक ३४ वर्षीय गुज्जेश्वर साहलाई दुई महिलालाई सप्तरीको बलानबिहुल ६ का ३८ वर्षीय शिवकुमार यादवसँग मिलेर जबरजस्ती वेश्यावृत्ति गराएको आरोपमा पक्राउ गरेको छ। उनीहरूलाई पनि सात दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको छ।