राजनीति

ईट्टाले बनेको शहर, धुँवाले ढाकिएको सासः जिम्मेवार को ? भक्तपुर आफैं कि हामी सबै ?



कुनै समय भक्तपुर जिल्ला सांस्कृतिक सम्पदाको धनी मात्र थिएन । स्वच्छ हावा, सफा पानी र हराभरा खेतबारीको जीवन्त पर्याय थियो । हनुमन्ते खोला र मनोहरा खोलाका किनारामा किसानहरुले तरकारी पखाल्थे, मानिसहरु त्यही खोलाको पानीमा नुहाँउथे र खोलाको पानी सिंचाईका लागि प्रयोग हुन्थ्यो । त्यो समय भक्तपुरको पानी र हावा प्राकृतिक सम्पदा जस्तै जीवन र जनताका स्वास्थ्यको आधार थिए । तर अहिले स्थिति ठीक उल्टो छ । कालो, दूर्गन्धित पानी र धूवाले ढाकिएको आकाशले आज विकासको नाममा आधार नै नष्ट हुन थालेको स्पष्ट सन्देश दिईरहेको छ ।

बढदो जनसंख्या र अव्यवस्थित बसोबासको बिस्तार

Central Bureau of Statistic (2078) अनुसार, भक्तपुर जिल्लामा कूल जनसंख्या ४३२,१३२ पुगेको छ । यो तथ्याङ्क हाल अझै बढेको अनुमान गर्न सकिन्छ । यो जिल्लामा चार नगरपालिका (भक्तपुर, मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिका)मा तिब्र शहरीकरण भईरहेको छ । संरचनागत हिसावले घर,सडक त बन्यो तर ढल, फोहर व्यवस्थापन र हरियाली योजनाको अभावमा खोलाहरु फोहरको डम्पिङ्ग साईट बनेका छन् । ऐतिहासिक नगरी भक्तपुर नगरपालिकामा खुल्ला बजार र बस्ती बिस्तारको कारण विषेश गरि हनुमन्ते खोलामा फोहोर र प्रदूषण अत्याधिक बढेको छ । मध्यपुर ठिमी नगरपालिका दोस्रो ऐतिहासिक नगर जहाँ नयाँ बस्ती बिस्तार र औद्योगिक क्षेत्र विस्तारका कारण पूर्वाधार निर्माणको ढिला सुस्तिले प्रदूषणको चपेटामा परिसकेको छ । चाँगुनारायण न.पा. भक्तपुर जिल्लाका अन्य नगरपालिका क्षेत्रहरुमा भन्दा संख्यात्मक रुपले ईट्टा भट्टाको केन्द्र नै बनेको छ । तुलनात्मक हिसाबले जिल्लाका अन्य चार नगरपालिकाहरुको दाँजोमा यहाँ बढी खेतीयोग्य जमिन, कृषि र उत्पादनमा जनस्तरमै सक्रियता भएको देखिन्छ । सूर्यविनायक नगरपालिकामा भने ईट्टा भट्टा नभएको चाहि होईन केहि कम मात्र । अन्य नगरपालिकाको भन्दा यो नगरपालिका बिना पूर्वाधार तिब्र गतिमा बढेको बस्ती र यसले निम्त्याएको गम्भिर समस्याले चुनौती अझै थपिएको छ ।

ईट्टा भट्टा : विकासे ईट्टा, प्रदूषणको धुवाँ

भक्तपुर जिल्लामा पचासौं ईट्टा भट्टा संचालनमा छन् । ती मध्ये अधिकांश चागुनारायण नगर क्षेत्रभित्र छन् । यसले रोजगारी र निर्माण क्षेत्रमा योगदान नपुरयाएको होइन तर ICIMOD (International Center for Integrated  Mountain Development) 2019 को अध्ययनले देखाए अनुसार, यी भट्टाहरुबाट निस्कने PM2.5, सल्फर डाइअक्साईड र नाईट्रोजन अक्साईड स्वास्थ्यको लागि अत्यन्त खतरनाक हुन्छन् । WHO (World Health Organization) ले निर्धारित गरेको मापदण्ड भन्दा धेरै गुणा बढी प्रदुषण भएकोले स्वास्थ्यको लागि घातक छ । जसको कारण दम, खोकी र फोक्सोजन्य रोगहरु प्रदूषणका कारण अब सामान्य बनेका छन् ।

Zig-Zag भट्टा प्रविधि : प्रदूषण समाधानको उत्तम उपाय

Zig-Zag भट्टा भनेको ईट्टा भट्टावाट निस्कने धुवाँलाई घुमाउँरोवाटोबाट निष्कासन गर्ने प्रविधि हो । यसले ईट्टा पोल्न प्रयोग हुने इन्धनलाई राम्रोसँग जलाउँछ र दूषित धुवाँको मात्रालाई ४० देखि ६० प्रतिशत घटाउँछ । तर यो प्रविधि सवै ईट्टा भट्टामा लागु नगरिएको अवस्था छ । स्थानिय सरकार र यसका साना वडा सरकारहरु “अहिले सम्भव छैन” वा “धेरै खर्च लाग्छ” भन्ने अभिव्यक्ति मात्र दिने, प्रदूषण घटाउने साहसिक कदमलाई वास्तविकतामा अनुभूत गराउने कदमवाट पछि हटेको तितो सत्य छ ।

हनुमन्ते खोला : BOD, COD र जीवनको खतरा

Biochemical Oxygen Demand (BOD) जसलाई सामान्य बुझाईमा पानीमा फोहोर पचाउन वा घुलाउन आवश्यक अक्सिजनको मात्रा, Chemical Oxygen Demand (COD) जसलाई सामान्य बुझाईमा पानीमा फोहोर पचाउन वा घुलाउन आवश्यक अक्सिजनको मात्रा । वातावरण विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणको यी दुवै BOD, COD सम्बन्धी अध्ययन प्रतिवेदन, २०२०–२०२२ ले हनुमन्ते खोला अत्यन्त दुषित देखाएको छ । किनकी सफा पानीमा BOD तीन मिलिग्राम प्रति लिटर भन्दा कम हुनुपर्छ तर हनुमन्ते खोलाको पानी क्रमश: BOD ३० देखि ८० र COD एकसय देखि दुईसय ५० सम्म रहेको तथ्यले यो खोला अब जलचर जीवनयोग्य छैन्, मानव स्वास्थ्य र कृषि उत्पादनमा समेत घातक सिद्ध छ ।

चाँगुनारायणका किसान र टनेल खेती प्रयास

भक्तपुर जिल्लामा चाँगुनारायण नगरपालिका तुलनात्मक रुपमा बढी खेती योग्य जमिन भएको क्षेत्र हो । यहाँका जग्गा धनीहरुले अन्य जिल्लाबाट आउनु भएका अधिकांश सामान्य वर्गका किसानहरुलाई टनेल प्रविधिमा तरकारी र फूल खेतीका लागि भाडामा दिएका छन् । जमिन बाँझो रहनु भन्दा कृषि व्यवसाय गर्नु र गर्न दिनु नराम्रो पनि होईन् । यसमा टनेल खेती (High Tunnel Farming) को थोरै समीक्षा गर्नु उपयुक्त हुन्छ होला । यो प्रविधिमा प्लाष्टिक वा पोलिथिन संरचना भित्र गरिने खेतीमा पानीको न्यूनतम उपयोग र माटोको पोषण नियन्त्रण योग्य मानिन्छ । यस प्रविधिमा प्रयोग भएको टनेलका कारण बाहिरी प्रदूषण, विषाक्त धुलो वा पानीबाट उत्पादन सुरक्षित राख्न सक्षम, वर्षभरी उत्पादन सम्भव बनाउँदै मौसम र हावापानीको प्रभावलाई न्यूनिकरण गर्दै फोहर र प्रदूषणबाट उत्पादनलाई जोगाउन टनेल खेती महत्वपूर्ण हुन्छ । तर यस नगरपालिका र मातहतका वडा सरकारहरु नेपाली उक्ति “सवै छोडी पुच्छरमा हात” भनेझै वायु प्रदुषण, जल प्रदुषणको मुख्य समस्यालाई थाहा नपाए झै गरी बिषाक्त प्रयोगको नाममा सनद जारी गर्दै किसानहरुलाई तर्साउन उद्त देखिन्छन् । यो तितो यथार्थ हो, पचाउन वहाँहरुलाई सकस होला, आगे वहाँहरुकै मर्जी ।

समाधानका उपाय

खोलाको पानी,फोहर व्यवस्थापन र उधोग नियन्त्रणमा जिल्लाका चारै नगरपालिका बीच समन्वय हुनुप¥यो । Sewage Treatment Plant (STP) निर्माण र संचालन, ढल सफा गरेर मात्र खोलामा छाड्ने व्यवस्था हुनुपर्यो । Zig-Zag ईट्टा भट्टा प्रविधि अबलम्बन गराउन नगरपालिकाहरु निर्ममरुपले लाग्नु प¥यो तर कर्मकाण्डी हिसाबले होइन । फोहोर फाल्ने व्यवस्थामा सुधार गर्न घरदेखि फोहोर छुट्याउने, पूनः प्रकृया गर्ने र खोलामा फाल्न निषेध गर्ने प्रणाली बसाउनु पर्यो । यी कार्यपालनामा नियम बनाउने मात्र होईन कडा अनुगमन र दण्ड जरिवानाको तहमा समेत लागु गर्न सक्नुपर्यो । टनेल खेती प्रविधिलाई प्रोत्साहन गर्दै कृषि उत्पादनलाई सुरक्षित र प्रदूषणरहित बनाउने नीति तर्जुमा गर्नुपर्यो ।

निष्कर्ष : अब नरोके, कहिल्यै रोकिने छैन्

यहाँ सम्म आईपुग्दा हामी आफैले सास फेर्ने हावा विषाक्त बनाएका छौं, पिउने पानी हामी आफैले फोहोर बनाएका छौं । प्रकूतिको अनुपम सृजना, धार्मिक मान्यताको प्रतिरुप हनुमन्ते खोला आज मरेको छ, भोली हाम्रो स्वास्थ्य मर्नेछ । आज खेतीबारी बिग्रिएको छ, भोली हाम्रो खाना बिषाक्त बन्नेछ वा आज विषाक्त बन्न थालिसकेको छ ।

अब “हेरौंला” “पछि गरौंला” भन्नु विलम्ब मात्र होईन् यो आफ्नै पुस्तामाथीको अन्याय हो । तसर्थ: अब चाहिने भनेको निर्णय हो, कार्यान्वयन हो । तसर्थ मापदण्ड नमान्ने ईट्टा भट्टा तुरुन्त सुधारौं वा बन्द गरौं । फोहर व्यवस्थापनमा उदासिनता देखाउने निकायलाई जिम्मेवार बनाउँदै सिर्जना र विकास बचाउन साहसिक कदम चालौं । अन्त्यमा, इतिहासले हामीलाई चिनाएको जिल्ला आज हाम्रो आफ्नै कारणले हाम्रा सामु मडारीएको धुवा, धुलो र फैलिएको प्रदूषित गन्धले नचिनेको जस्तो बनाउँदैछ । अब पनि हामी उठेनौ भने भक्तपुर नाममा मात्र रहनेछ, जीवनमा होईन् ।

भक्तपुर