अर्थ

मालपोतका तत्कालीन प्रमुखसहित १५ जनाविरुद्ध मुद्दा



धनकुटा, १६ चैत । सरकारी जग्गा व्यक्तिको नाममा कायम गराएको आरोपमा मालपोत कार्यालय धनकुटाका तत्कालीन प्रमुख सुरेश थपलियासहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । आरोपपत्रमा तत्कालीन मालपोत प्रमुख थपलिया, छुट जग्गा दर्ता समितिका सदस्य तथा शाखा अधिकृत टंकप्रसाद दुवाडी, नापी कार्यालय धनकुटाका तत्कालीन सर्वेक्षक राजेन्द्रप्रसाद यादव, साविक तांखुवा गाविसका सचिव भक्तबहादुर भट्टराई, मालपोतका नायब सुब्बा छविलाल फुयाँल तथा जग्गाधनी माधबहादुर भट्टराईलाई मुख्य आरोपी बनाइएको छ ।

आयोगका अनुसार उनीहरूले मिलेमतोमा धनकुटाको साविक तांखुवा गाविस-९ मा रहेको कित्ता नम्बर ३८२, ३८३, ३८४ र ३८५ अन्तर्गतको सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गराएका थिए । उक्त जग्गा २०६६ साल मंसिर २१ गते माधबहादुर भट्टराईको नाममा कायम गरिएको दाबी गरिएको छ ।

यस प्रकरणमा मुख्य आरोपी सुरेश थपलिया, शाखा अधिकृत दुवाडी र सर्वेक्षक यादवविरुद्ध प्रतिव्यक्ति रु ६७ लाख ६८ हजार रुपैयाँ बिगो कायम गरी कैद सजायको माग गरिएको छ । तत्कालीन गाविस सचिव भक्तबहादुर भट्टराई र जग्गाधनी माधबहादुर भट्टराई, नायब सुब्बा छविलाल फुयाँलविरुद्ध ६७ लाख ६८ हजार रुपैयाँ बिगोसहित थप १० लाख रुपैयाँ जरिवाना र कैद सजाय माग गरिएको छ ।

हाल जग्गाधनी रहेका खगेन्द्रबहादुर थापा, हिमादेवी बस्नेत, कुमारी मगर, मित्रबहादुर मगर, अम्बरबहादुर मगर, पदमबहादुर सिंजाली, निर्मला घिमिरे, इन्द्रबहादुर मगर तथा स्वर्गीय पूर्णबहादुर थापाको हक सकार गर्ने राजेन्द्र थापासहितका व्यक्तिहरूविरुद्ध जग्गा जफतको माग गरिएको आयोगले जनाएको छ ।