काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
मंगलबार बिहान ११ बजे महाराजगञ्जको स्मार्ट होटलमा १४ औँ महाधिवेशनबाट आएको केन्द्रीय समिति बैठक आह्वान भएको निवर्तमान केन्द्रीय कार्यसमितिकी सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् । बैठकमा समसामयिक राजनीति र सर्वोच्च अदालतमा आफूहरूले दायर गरेको रिटबारे छलफल हुने खतिवडाले बताइन् । सर्वोच्चमा दायर रिटको पेसी चैत २२ गतेका लागि तोकिएको छ ।
निवर्तमान कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेताहरूलाई टेलिफोन गरेर बैठक आह्वान गरिएकोले सहभागी हुन भन्दै जानकारी दिइरहेका केन्द्रीय सदस्यहरूले बताएका छन् ।
गत पुसमा भएको विशेष महाधिवेशनले चयन गरेको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको देउवा–डा. कोइराला समूहले समानान्तर गतिविधि सुरु गरेको हो ।










प्रतिक्रिया दिनुहोस्