अर्थ

‘टास्क मोडल’मा सञ्चालन गर्न अर्थमन्त्री वाग्लेकाे निर्देशन



काठमाडौँ, २० चैत । अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले नियमित कार्य ‘टास्क मोडल’मा सञ्चालन गर्न निर्देशन दिँदै राजस्व वृद्धि गर्न करको दर घटाउने र दायरा विस्तार गर्ने नीति अवलम्बन गरिने स्पष्ट पारेका छन् ।

आज केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमार्फत राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री वाग्लेले प्रशासनले ठूला काम तथा घटनाहरू सफलतापूर्वक व्यवस्थापन गरे पनि नियमित प्रकृतिका काममा अपेक्षित सफलता हासिल गर्न नसक्नुको प्रमुख कारण ‘मिसन मोडल’मा काम नगर्ने प्रवृत्ति रहेको उल्लेख गरे ।

छलफलका क्रममा गृहमन्त्री गुरुङले सरकारी निकायहरूबीच जिम्मेवारी पन्छाउने र दोषारोपण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिँदै राजस्व चुहावट नियन्त्रणका लागि समयसीमासहितको जिम्मेवारी निर्धारण गरी ‘डेडिकेटेड एक्सन प्लान’ तयार पार्न निर्देशन दिए । उनले नाकाहरूमा आवश्यक पूर्वाधार तथा उपकरणको व्यवस्था गर्न र सम्बन्धित निकायलाई साधन–स्रोत सम्पन्न बनाउनुपर्ने आवश्यकता औँल्याए ।

बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रतिनिधिसभाका सदस्य सुशील खड्का, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृहसचिव, अर्थ सचिव, राजस्व सचिव, सुरक्षा निकायका प्रमुखहरू तथा सम्बन्धित विभागका महानिर्देशकहरूको उपस्थिति रहेको थियो ।