काठमाडौँ, २० चैत । गत फागुनमा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत माघको तुलनामा फागुनमा नेपाल भित्रिएको रेमिट्यान्स कम हो । माघमा १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । गत आर्थिक वर्षको फागुनमा१ खर्ब ५१ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको थियो ।
गत साउनदेखि फागुनसम्म नेपालमा १४ खर्ब ४९ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको आठ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३७.७ प्रतिशतले बढेको छ । २०८१ फागुनसम्म १० खर्ब ५२ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको थियो ।
इजरायल–इरान युद्धले पश्चिम एसियाका धेरै मुलुक प्रभावित भएपछि नेपाल आउने कुल रेमिट्यान्समध्ये झन्डै आधा प्रभावित हुने आकलन गरिएको छ । युद्धबाट त्यहाँको अर्थतन्त्र खलबलिएपछि नेपाल आउने रेमिट्यान्स पनि जोखिममा रहेको विश्लेषण भएका छन् ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको फागुनको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गएको आठ महिनामा अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाह ३१ प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड डलर पुगेको छ । गत वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले मात्र बढेको थियो । गएको २९ महिनायता हरेक महिना १ खर्बभन्दा बढी रेमिट्यान्स मुलुक भित्रिँदै आएको छ । यसअनुसार गत असोजमा हालसम्मकै सबैभन्दा बढी २ खर्ब १ अर्ब रेमिट्यान्स मुलुक भित्रिएको थियो ।
गत फागुनसम्म शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४ अर्ब ६१ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्