राजनीति

कायममुकायम प्रधानन्यायाधीश मल्लद्वारा नयाँ पोर्टल सार्वजनिक



काठमाडौँ, २० चैत । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक इजलासलाई थप सुदृढ र पारदर्शी बनाउन नयाँ ‘पोर्टल’ सार्वजनिक गरेकी छन् ।

आज उनले नयाँ पोर्टल सार्वजनिक गर्दै संविधानको रक्षा र न्यायको पारदर्शिताका निम्ति प्रविधिको प्रयोगलाई जोड दिएको बताइन् ।  

सर्वोच्च अदालतले संवैधानिक इजलासका लागि छुट्टै पोर्टल सञ्चालनमा ल्याएको र न्यायपालिकामा रहेका पुरानो मुद्दाको फर्छ्योटलाई प्राथमिकतामा राखिएको उनले उल्लेख गरिन् ।

उनका अनुसार, संवैधानिक इजलासमा हाल २८२ मुद्दा विचाराधीन छन् । त्यसमा ०७४ सालदेखिका आठ वर्ष पुराना मुद्दा समेत छन् ।

सर्वोच्चले संवैधानिक इजलासका मुद्दा फर्छ्यौट गर्न निश्चित लक्ष्य निर्धारण गरेको पनि उनले बताइन् । निर्वाचनसम्बन्धी विवादलाई दर्ता भएको मितिले ६ महिनाभित्र निरुपण गरिसक्ने अर्को लक्ष्य पनि अदालतले तय गरेको छ । विगतमा निर्वाचनको औचित्य सकिँदासम्म पनि मुद्दा किनारा नलाग्ने अवस्थालाई अन्त्य गर्न यस्तो समयसीमा तोकिएको उनले स्पष्ट पारिन् ।