समाचार

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’: एकैदिन ६० जना पक्राउ



भक्तपुर, २२ चैत । जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा सञ्चालित ‘स्वीप अपरेसन’बाट एकैदिन ६० जनालाई फक्राउ परेका छन् ।

प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले प्रहरीद्वारा सञ्चालित ‘स्वीप अप्रेसन’मा शनिबार एकैदिन जिल्लाका विभिन्न स्थानबाट ६० जना पक्राउ परेका जानकारी दिए । सार्वजनिक स्थलहरूमा शान्तिसुरक्षा भंग गर्ने खालका क्रियाकलाप गर्ने, शंकास्पद गतिविधि गर्ने, लागुपदार्थ सेवन गर्ने, विभिन्न स्थानमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्नेलगायत शंकास्पद गतिविधि गर्ने ६० जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए ।

समाजमा शान्तिसुरक्षा कायम राख्ने मुख्य उद्देश्यले स्वीप अप्रेसन सुरु गरिएको जानकारी दिँदै प्रहरी उपरीक्षक खड्काले नजिकिँदै गरेको बिस्केट जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन पनि उक्त अप्रेसन सञ्चालन गरिएको बताए ।