राजनीति

स्वास्थ्य सेवा नागरिकको अधिकार हो: मन्त्री थापा



सिन्धुली, २३ चैत । जिल्लाको फिक्कल गाउँपालिकामा नवनिर्मित फिक्कल आधारभूत अस्पतालको उद्घाटन गरिएको छ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले एक विशेष समारोहका बीच अस्पतालको उद्घाटन गर्नुभएको हो।

अस्पतालको उद्घाटन गर्नुहुँदै मन्त्री थापाले स्वास्थ्य सेवामा पहुँच पुर्‍याउनु राज्यको दायित्व मात्र नभई यो नागरिकको आधारभूत आवश्यकता भएको बताउनुभयो। उहाँले भन्नुभयो, “दुर्गम क्षेत्रका नागरिकले सामान्य उपचारका लागि पनि टाढा धाउनुपर्ने बाध्यता अन्त्य गर्न प्रदेश सरकार प्रतिबद्ध छ।” उहाँले स्वास्थ्य सेवा केवल पहुँचको विषय मात्र होइन, यो गुणस्तरीय र भरपर्दो हुनुपर्नेमा जोड दिनुभयो ।

सम्बोधनका क्रममा मन्त्री थापाले भौतिक पूर्वाधारले मात्रै स्वास्थ्य सेवा पूर्ण नहुने उल्लेख गर्नुभयो। उहाँले भवनसँगै दक्ष जनशक्ति, आधुनिक प्रविधि र आवश्यक उपकरणहरूको समुचित व्यवस्थापनमा जोड दिँदै स्थानीय तहसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। 

बदलिँदो समयको मागअनुसार सशक्त, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा निर्माणमा बागमती प्रदेश सरकार दृढ रहेको मन्त्री थापाको भनाइ थियो। उहाँको यस आश्वासनले स्थानीय बासिन्दामा स्वास्थ्य सेवाप्रति नयाँ आशा र विश्वास जगाएको छ।

१५ शय्याको अस्पताल सञ्चालनमा आएसँगै फिक्कल गाउँपालिका र आसपासका क्षेत्रका बासिन्दाले अब आफ्नै घरदैलोमा आकस्मिक सेवा, प्रसूति सेवा र आधारभूत उपचार पाउनेछन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।