काठमाडौँ, २३ चैत । कास्की प्रहरीले पोखराको सैनिक बस्तीबाट लागुऔषध र ठुलो परिमाणमा नगदसहित एक युवतीलाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले पर्वत कुश्मा घर भई हाल पोखरा-२९ बस्ने २६ वर्षीया सिमा दर्जीलाई पक्राउ गरेको हो ।
दर्जीको साथबाट प्रहरीले डाइजापाम, फेनेरागन र ब्रुफिनुर्फिन गरी जम्मा ८ एम्पुल लागुऔषध, दुई थान मोबाइल र ४ लाख १ हजार रुपैयाँ नगद बरामद गरेको छ । पक्राउ परेकी दर्जीमाथि कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी लागुऔषध मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।
प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेकी दर्जी यसअघि पनि लागुऔषध मुद्दामा दोषी ठहर भई कास्की कारागारमा सजाय काटिरहेकी कैदी हुन् । तर, गत भदौ २४ गते देशमा भएको जेनजी आन्दोलनको मौका छोपेर उनी कारागारबाट फरार भएको खुलेको छ ।
जेलबाट भागेपछि पुनः लागुऔषधकै कारोबारमा सक्रिय रहेको अवस्थामा उनी नगदसहित प्रहरीको फन्दामा परेकी हुन् ।










प्रतिक्रिया दिनुहोस्