राजनीति

प्रश्नको अस्तित्व नभए जनता आफैँ सदनमा छिर्छन् : सांसद झा



काठमाडौँ, २३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्तासमेत रहेका प्रतिनिधिसभा सदस्य मनिष झाले सदनमा जनताको प्रश्नको अस्तित्व नभए जनता आफैँ सदनमा छिर्ने बताएका छन् । 

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले सदन भनेको जनताको आवाज उठाउने ठाउँ भएको बताएका हुन् ।

उनले भने, ‘सदनमा जनताको प्रश्नको अस्तित्व हुँदैन भने त्यहाँ जनता आफैँ छिर्छन्,’ ‘त्यो भदौ २३ र २४ गते देखियो । त्यो सहकर्मी साथीहरूले सम्झिरहनुहोला ।’

यसअघि सदन बालुवाटार, बूढानीकलकन्ठ, बालकोट र खुमलटारको बन्न खोज्दा भदौ २३ र २४ को घटना घटेको झाले बताए । उनले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याललाई सदनलाई स्वतन्त्र बनाउन शुभकामना दिए ।

सदनमा सत्तापक्षको दम्भ देखिदा जेनजी आन्दोलन भएको झाले बताए । उनले भने, ‘सत्ताले सदनमा दम्भ देखाउँदा के हुन्छ, त्यो भदौ २३ र २४ देखिइसक्यो,’ ‘सभामुखले उदारता देखाउनु छ, संस्कार देखाउनु छ र विश्वास दिलाउनु छ ।’