मनोरञ्जन

चलचित्रमा ‘काली कर्णाली’ विषयक अन्तरक्रिया सम्पन्न



काठमाडौँ, २४ चैत । चलचित्रमा ‘काली कर्णाली’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

एभरेष्ट ग्यालरीको आयोजना एवम् चलचित्र विकास बोर्डको सहकार्यमा सोमबार आयोजित कार्यक्रममा चलचित्रमा कर्णालीको भुगोल, पर्यटकीय क्षेत्र, सुन्दरता तथा समस्याहरुलाई उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक विस्तार, विकास, प्रचारप्रसार तथा प्रवद्र्धनका विषयहरुलाई समेटिएको अन्तरक्रिया आयोजना गरिएको थियो ।

कार्यक्रममा चलचित्र क्षेत्रमा कालीकर्णालीलाई लिएर आफूले सङ्गालेका अनुभवहरू केही विशिष्ट चलचित्रकर्मीहरूले प्रस्तुत गर्नुभयो । यसमा व्यक्तिगत यात्रा, चुनौती, सम्भावना र प्रेरणादायी कथाहरू उजागर गर्ने उद्देश्य राखिएको थियो । त्यस्तै चलचित्रमा कालीकर्णालीको उपस्थितिका चुनौती, संस्थागत पहल र आगामी कार्ययोजनाका बारेमा चलचित्रसँग सम्बन्धित विभिन्न सङ्घ–संस्थाका शीर्षस्थ प्रतिनिधिहरूसँग विस्तृत छलफल गरियो । विशेष गरि चलचित्रमा कालीकर्णाली समेटिन नसक्नुका कारण, संस्थागत पहल र भविष्यका रणनीतिबारे विचार–विमर्श गरिएको थियो ।

चलचित्रकर्मीहरुले कर्णाली क्षेत्रमा चलचित्रको छायांकनका लागि गर्ने लगानी, भाषा, भेषभुसालगायका विषयमा चर्चा भएको थियो । चलचित्रका नितिगत बिषय, चलचित्रका प्रस्तावित बिधेयक र काली कर्णालीको सुन्दरता, भाषागत तथा साँस्कृतिक बिबिधता र छायांकनका लागि सहजतालगाएतका विषयमा चर्चा भएको थियो । चलचित्रको नीति, सरकारी दृष्टिकोण र कालिकर्णालीको सम्मानजनक उपस्थितिको मार्गचित्रका बारेमा व्यापक छलफल गरियो ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाही, बास्ना थापा, ऐन महर, रीमा विश्वकर्मा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसि, वरिष्ठ कलाकार तथा लेखक दीपक राज गिरी, चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, वरिष्ठ छायाङ्कार पुरुषोत्तम प्रधान, चलचित्र निर्देशक समाजका अध्यक्ष जनदीप पराजुली, चलचित्र लेखकरनिर्देशक लक्ष्मण सुनार, चलचित्रकर्मी तथा उद्यमी देवेन्द्र बजगाई लगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका अध्यक्ष एवम् पदाधिकारीहरुले नेपाली चलचित्रमा सुदुरपश्चिम र कर्णाली प्रदेशको सम्भाब्यता, सहभागिता र त्यहाँको प्राकृतिक, साँस्कृतिक, प्राचीन विषय बस्तुहरु माथि आ-आफ्नो अनुभव एवम् धारणा राख्नु भएको थियो । कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा दत्त ओझा, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, चलचित्र नृत्य संघका अध्यक्ष जनकबहादुर कार्की, चलचित्र निर्देशक देव नेपाल, राजबहादुर साने, सुशील पोखरेल, कर्णाली चलचित्र महोत्सवका अध्यक्ष तथा चलचित्रकर्मी चक्रबहादुर चन्दलगायतका बक्ताहरुले आआफ्नो धरणा राख्नु भयो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य बीरेन्द्र भट्ट, सन्तोषबाबु लोहोनी, चलचित संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थ, वरिष्ठ कलाकार उत्तम के।सी।, उपेन्द्र तिमल्सिना, गीता अधिकारी, गोपाल ढकाल ‘छन्दे’, गीता नेपाल, धर्मेन्द्र आचार्य, राज टाइगर, ईन्द बहादुर दोङ ‘खम्बे’ संगीतकार दिपक शर्मा, राजेन्द्र बजगाई, भिम बिसी गायिका इब्सल सन्ज्याल लगायतका सुदुर पश्चिम र कर्णाली प्रदेशलाई प्रतिनिधित्व गर्ने कलाकार, सर्जक, स्रष्टा तथा संचारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।