काठमाडौँ, २४ चैत । योग, ध्यान र आरोग्यसम्बन्धी विषयलाई राज्यस्तरीय नीतिगत ढाँचामा संस्थागत गर्दै अघि बढाउने उद्देश्यसहित नेपाल सरकारले देखाएको सक्रिय तदारुकता सराहनीय छ । यसै सन्दर्भमा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले योग–ध्यान–आरोग्य क्षेत्रसँग आबद्ध संघ–संस्थाका प्रतिनिधिहरूसँग व्यापक राय–परामर्श लिने कार्यको प्रारम्भिक थालनी गरेको छ ।
प्रतिष्ठानद्वारा सञ्चालित वरिष्ठ कार्यकारी विकास कार्यक्रममा सहभागी पाँचजना वरिष्ठ सहसचिवहरूको समूहले योग–ध्यान–आरोग्य स्वजागरणसम्बन्धी राष्ट्रिय नीति निर्माणको आवश्यकता, औचित्य तथा कार्यान्वयनका सम्भावित विधिहरूमाथि गहन छलफल सम्पन्न गर्दै प्रारम्भिक मस्यौदा तयार पारेको छ । उक्त मस्यौदालाई थप परिपूर्ण र व्यवहारमुखी बनाउन सम्बन्धित विषय विज्ञ तथा सरोकारवालाहरूलाई शीघ्र लिखित राय–सुझाव उपलब्ध गराउन विशेष अपिल समेत गरिएको योग ध्यान आरोग्य सन्जाल नेपालका महासचिव नबराज काफ्लेले अवगत गराएका छन् ।
काठमाडौँको चावहिलस्थित जीवन विज्ञान प्रतिष्ठान परिसरमा सम्पन्न उक्त कार्यक्रम नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र योग–ध्यान–आरोग्य सञ्जाल नेपाल बीचको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रममा दुवै पक्षले योग–ध्यान–आरोग्यलाई राष्ट्रिय प्राथमिकताका रूपमा स्थापित गर्दै प्रभावकारी नीति निर्माण र कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्