काठमाडौँ, २५ चैत । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको उल्लेख गर्नुभएको छ ।
सरकारले सम्पत्ति सुद्धिकरणमा उहाँ र उहाँको श्रीमती आरजु राणालाई पक्राउ पुर्जी जारी गरेसँगै आज देउवाले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै आफु सार्वजनिक पदमा रहेको समयमा सम्पत्ति विवरण सार्वजनिक गरेको स्मरण गराउनुभयो ।
उहाँले भन्नुभएको छ, ‘नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु । देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ । मेरो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको छ । भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ । बास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरंजना गरी सार्वजिनक भएका विवरणहरुबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु ।’










प्रतिक्रिया दिनुहोस्