समाचार

प्रहरीमा दर्ता जाहेरी अब ‘फोन वा एसएमएस’बाटै



काठमाडौँ, २६ चैत । नेपाल प्रहरीले अब मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा तथा जाहेरीको प्रगतिबारे ‘फोन वा एसएमएस’बाटै जानकारी दिने भएको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले अब नागरिकका सेवा प्रभावकारी बनाउन फोन वा एसएमएसबाटै जानकारी दिने व्यवस्था सुरु गरिएको बताएका हुन् ।

प्रहरी प्रधान कार्यालयले एक सूचनामार्फत भनेको छ, “मुद्दा दर्ता हुने प्रहरी एकाइहरूसम्म सेवाग्राहीबाट प्राप्त हुन आएका उजुरी, निवेदन, गुनासो, जाहेरी दरखास्त आदि दर्ता भएपश्चात् त्यसको प्रगति के भयो र के–कसरी कार्यान्वयन भइरहेको छ भनेर सम्बन्धित सेवाग्राहीहरूले दिनुभएको सम्पर्क नम्बरमा फोन गरेर वा एसएमएसमार्फत सूचना दिने व्यवस्था लागु गरिएको व्यहोरा जानकारी गराउँदछौँ ।”