काठमाडौँ, २ बैशाख । नयाँ वर्ष २०८३ को अवसरमा पोखरामा शान्ति सुरक्षा कायम राख्न कास्की प्रहरीले चलाएको ‘स्वीप अप्रेसन’ का क्रममा १८ जना व्यक्ति र ४१ वटा सवारी साधन कारबाहीमा परेका छन् ।
मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी हो–हल्ला गर्ने, सवारी साधनको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण फैलाउने र सार्वजनिक शान्तिमा खलल पुर्याउने गतिविधि बढेको जनगुनासोपछि प्रहरीले यो कदम चालेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार वैशाख १ गते दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म पोखराका विभिन्न रणनीतिक स्थानहरूमा प्रहरी टोली परिचालन गरिएको थियो । अप्रेसनका क्रममा पोखरा महानगरपालिकाको काहुडाँडा, चाउथे, मेथलाङ र बेगनास क्षेत्रबाट मादक पदार्थ र लागू औषध सेवन गरी सवारी चलाउने तथा उच्छृङ्खल गतिविधिमा संलग्नहरूलाई नियन्त्रणमा लिइएको छ ।
विशेष गरी काहुडाँडा क्षेत्रबाट ८ जना मानिस र १० वटा सवारी साधन नियन्त्रणमा लिइएको छ भने चाउथेमा ट्राफिक प्रहरीसहितको टोलीले ९ वटा सवारी साधनमाथि कारबाही गरेको छ । यस्तै, पर्यटकीय क्षेत्र मेथलाङबाट १३ वटा सवारी साधन र ५ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । त्यसैगरी, बेगनास ताल क्षेत्रमा गरिएको चेकिङका क्रममा ८ वटा सवारी साधनलाई कारबाही गरी छाडिएको छ भने लागू औषध सेवन गरी सवारी चलाउने एक चालकसहित अन्य ४ जनालाई प्रहरीले हिरासतमा लिएको छ । पक्राउ परेका सबै व्यक्ति र सवारी साधनमाथि थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्