राजनीति

सञ्चार मन्त्रालयको ९ बुँदे आचारसंहिता



काठमाडौँ, २ बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नौबुँदे आचारसंहिता र प्रतिबद्धतापत्र ल्याएको छ ।

मन्त्रालय र अन्तर्गत निकायहरूमा कार्यरत कर्मचारीहरूलाई पालना गराउन उक्त आचारसंहिता र कर्मचारीको प्रतिबद्धतापत्र ल्याइएको हो ।

कर्मचारीहरूले नेपालको संविधान र अन्य प्रचलित नीति एवम् कानुनहरूमा पालना गर्नुपर्ने भनी उल्लेख भएका आचरण, नियम र व्यवस्थाहरूको पूर्ण रूपमा पालना गर्नुपर्ने आचारसंहितामा उल्लेख छ ।

आचारसंहितामा भनिएको छ, “कर्मचारीहरू नेपाल सरकारबाट निर्धारित समयमा नियमित रूपमा कार्यालयमा हाजिर हुनुपर्ने र सकेसम्म पहिले बिदाको स्वीकृति नलिई अनुपस्थित हुन नहुने,” ।

आचारसंहितामा कर्मचारीहरूले कार्यालयमा रहँदा र कार्यालयको तर्फबाट प्रतिनिधित्व गर्दा तोकिए बमोजिमको पोशाक लगाउनुपर्ने उल्लेख छ । कार्यालयमा रहँदा आफ्नो परिचयपत्र सबैले देख्न सक्ने गरी लगाउनुपर्ने पनि जनाइएको छ ।

“प्रत्येक कर्मचारीले आफ्नो डेस्क वा सिस्टममा आएका कामहरू सकेसम्म सोही दिन वा सोको भोलिपल्टसम्ममा सम्पन्न गरिसक्ने । कुनै द्विविधा वा विलम्ब हुने भएमा सम्बन्धित सुपरीवेक्षकलाई समयमै जानकारी गराउनुपर्ने,” आचारसंहिता तथा प्रतिबद्धतापत्रमा भनिएको छ ।

कुनै टिप्पणी, पत्र वा निर्णयको उठान वा सुरु गर्ने कर्मचारीले आफूले गरेको कामको ट्रयाकिङ वा फलो गरी आफ्नो सुपरीवेक्षकलाई जानकारी गराउनुपर्ने आचारसंहिता तथा प्रतिवद्धतापत्रमा उल्लेख छ ।

कर्मचारीले आफूलाई सुप्पिएको जिम्मेवारी छिटो, छरितो, पूर्ण र गुणस्तरीय रूपमा निर्वाह गर्न सदा प्रयत्नशील रहनुपर्ने पनि जनाइएको छ ।

“सेवा प्रदान गर्दा वृद्ध, अशक्त, अपांगता भएका व्यक्ति, सुत्केरी वा गर्भवती महिला, बालबालिका र असहायलाई प्राथमिकता दिनुपर्ने,” आचारसंहिता तथा प्रतिबद्धतापत्रमा भनिएको छ ।

कर्मचारीहरूले कार्यालय परिसर तथा आफ्नो कार्यकक्षलाई सफा राख्नुपर्ने तथा स्रोतसाधनको मितव्ययी र प्रभावकारी प्रयोग गर्नुपर्ने जनाइएको छ ।