काठमाडौँ, ५ बैशाख । कैलालीमा मरेको ब्रोइलर कुखुुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बिहीबार मरेको बोइलर कुखुराको मासु खाएका चुरे गाउँपालिका–३ को भक्तपुर बस्ने ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको हो ।
उनीहरू दुवै जना सहोदर दाजुभाइ हुन् । दुवै जनाको उपचारका क्रममा शुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
ब्रोइलर कुखुराको मासु खाएका मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकारको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।
घटना बिहीबारको भएपनि प्रहरीलाई शुक्रबार मात्र खबर गरिएको थियो । त्यसपछि प्रहरीको समन्वयमा उनीहरू चारै जनालाई उपचारका लागि धनगढी ल्याइएको थियो । उनीहरूले मरेको कुखुराको मासु स्थानीय विकास पोल्ट्री फार्मबाट खरिद गरेको पाइएको प्रहरीले जनाएको छ ।
फार्म सञ्चालक मंगल साउँदले आफैँ इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएर कागज गरेका छन् । उनलाई बोलाएका बखत हाजिर हुनेगरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्