समाचार

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ, १५ जेठ । नुवाकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको घाइते भएका छन्  ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका अनुसार बिहीबार साँझ छहरे–टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङमा जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका सिराहा सुखीपुरी–२ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु भएको हो । उनलाई उपचारका लागि काठमाडौँस्थित ग्राण्डी अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत्यु भएको जानकारी दिएका थिए । साथमा रहेको सवारी चालक अनुमति पत्रका आधारमा उनको सनाखत गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सुनसरीको इनरुवा नगरपालिका–५ का ४० वर्षीय उत्सव पोखरेल र काठमाडाैँ महानगरपालिका–९ गौरीघाटका ४४ वर्षीय लोकेश मिश्रको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

ढिकुरेबाट काठमाडौँ जाँदै गरेको बिएई ०५६९ नम्बरको विद्युतीय कार छहरे–टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङ नजिकै अनियन्त्रित भएर सडकबाट करिब १५० मिटर तल खसेको थियो । स्थानीयवासीको सहयोगमा प्रहरीले जङ्गल क्षेत्र र अँध्यारो अवस्थाका बाबजुद शीघ्र उद्धार गरेर घाइतेलाई उपचारका लागि काठमाडौँ पठाएको थियो ।