समाचार

करेन्ट लागेर एकजनाको मृत्यु



काठमाडौँ, १७ जेठ । दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बबई गाउँपालिका–७ बेलासपुर र कृष्णपुरघाट क्षेत्रमा शनिबार माछा मार्ने क्रममा शान्तिनगर गाउँपालिका–४ हिरापुरका ४७ वर्षीय भोजराज केसीलाई करेन्ट लागेको हो ।

केसीसहित सातजनाको टोलीले ब्याट्रीबाट करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा उनी घाइते भई बेहोस भएका थिए । केसीलाई तत्काल उपचारका लागि एम्बुलेन्समार्फत राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकामा उपचारकै क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले शान्तिनगर गाउँपालिका–४ का रामप्रसाद पाण्डे, सोही ठाउँका मेखलाल रेउले, गणेश अधिकारी, युवराज भण्डारी र सङ्गम पाउ तथा शान्तिनगर गाउँपालिका–३ का गोविन्द सुवेदीलाई नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।