अर्थ

नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापानद्वारा थप ५ अर्ब ५० करोड ऋण सहयोग



काठमाडौँ, २० जेठ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। 

आयोजना सम्पन्न गर्न अपुग भएको ५ अर्ब ७० करोड जापानी येन (करिब ५ अर्ब ५० करोड नेपाली रुपैयाँ) बराबरको थप ऋण प्रदान गर्ने निर्णय जापान सरकारले गरेको हो।
यससम्बन्धी समझदारी पत्रमा आज नेपालका लागि जापानी राजदूत माएडा तोरु र नेपाल सरकारका अर्थ सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गरे। यसअघि सन् २०१६ डिसेम्बरमा यस आयोजनाका लागि १६ अर्ब ६३ करोड ६० लाख येन ऋण सहयोगसम्बन्धी सम्झौता भएको थियो।

 तर, पछिल्लो समय बढ्दो मूल्य वृद्धि र अन्य प्राविधिक कारणले लागत बढ्न गई बजेट अभाव भएपछि जापानले थप सहयोग गरेको हो। यससँगै यस आयोजनाका लागि जापानको कुल ऋण सहयोग २२ अर्ब ३३ करोड ६० लाख येन पुगेको दूतावासले जनाएको छ।