राजनीति

सर्वदलीय बैठकमा विपक्षीले मागे प्रधानमन्त्रीको जवाफ



काठमाडौँ, २५ जेठ । प्रतिनिधिसभाका विपक्षी दलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्को रोस्ट्रममा उभिएर जवाफ दिनुपर्ने अडान कायमै राखेका छन् ।

आज सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बसेको सर्वदलीय बैठकमा विपक्षी दलका नेता र सांसदले प्रधानमन्त्रीले एकै मिनेट आएर भए पनि बोल्नुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा सहभागी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भने, “प्रधानमन्त्री आएर एकै मिनेट भए पनि जवाफ दिनुपर्छ ।”

नेपाल–भारत सीमाका विषयमा प्रधानमन्त्री बालेनले संसद्‌मा दिएको अभिव्यक्ति सच्याउनु वा प्रमाण देखाउनुपर्ने विपक्षीको माग छ ।

बैठक आह्वानकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भने बैठकमा भने, “परराष्ट्रको विषय भएकाले आज परराष्ट्रमन्त्रीले (संसद्‌मा) बोल्नुहुन्छ ।”

नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले बैठकमा प्रश्न गरे, “परराष्ट्रमन्त्री बोल्न हुने, प्रधानमन्त्रीले नहुने ?  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले पनि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भने सरकारले वैदेशिक मामिलामा अपरिपक्क ब्यवहार देखाउन नहुनेमा जोड दिए । सरकारका गलत क्रियाकलापका भारी देशले व्यहोर्नुपर्ने बैठकमा उनको भनाइ थियो ।

यस दिन पनि संसद् बैठक सञ्चालनमा अवरोध गर्ने विपक्षीको तयारी छ । सर्वदलीय बैठक सकाएर नेताहरू खाना खान गएका छन् ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्ति र प्रतिनिधिसभा नियमावलीको व्यवस्थाप्रति विपक्षी दलको विमति छ । यही विषयमा विपक्षीले संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएका छन् । प्रतिनिधिसभा नियमावली जबरजस्ती पारित गरिएको भन्दै सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग पनि विपक्षी असन्तुष्ट छन् ।