शैक्षिक

विद्यार्थीलाई झोला र स्टेशनरी सामग्री वितरण



काभ्रे, ४ असार । बीभी कम्पनीले सञ्चालन गरिरहेको ‘BV विश्वकप परोपकारी सपना योजना’ अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–स्थित गणेश माध्यमिक विद्यालयमा अध्ययनरत ८५ जना विद्यार्थीलाई स्कुल झोला, स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरेको छ ।

शैक्षिक अवसरबाट वञ्चित तथा आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउने उद्देश्यले आयोजित कार्यक्रममा BV कम्पनी टोलीसँगै सन्देश कार्की र उत्तम तामाङको पनि सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई स्कुल झोला, कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो। सहयोग सामग्री प्राप्त गरेपछि विद्यार्थी तथा अभिभावकहरूले खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमले अध्ययनमा थप उत्साह मिल्ने बताएका छन्।

कार्यक्रममा टोलीका सदस्यहरूले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै शिक्षा नै उज्ज्वल भविष्यको आधार भएको उल्लेख गरेका थिए। उनीहरूले विद्यार्थीहरूलाई लगनशीलताका साथ अध्ययन गर्न, आफ्नो क्षमता विकास गर्न र ठूलो सपना देख्न प्रेरित गरेका थिए।

‘फुटबलले संसारलाई जोड्छ, BV ले सपनालाई साथ दिन्छ’ भन्ने नारासहित सञ्चालन गरिएको ‘BV विश्वकप परोपकारी सपना योजना’ अन्तर्गत बालबालिकालाई शिक्षासँगै खेलकुद गतिविधिमा पनि सहभागी हुन प्रोत्साहन गरिएको छ। कार्यक्रमअन्तर्गत खेलकुद सामग्रीसमेत वितरण गरिएको थियो।

BV कम्पनीका प्रतिनिधिहरूले शिक्षा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि देशका विभिन्न क्षेत्रका आवश्यकतामा रहेका विद्यार्थी तथा समुदायलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रमले विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउनुका साथै समाजमा सहयोग, सद्भाव र मानवताको भावना प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको भनाइ छ।