Banner News

आजको मौसम



काठमाडौँ, १६ असार । आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज र भोलि मनसुनी गतिविधि बढ्ने र मधेस, कोसी, वाग्मती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ । यी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ । 

देशका पहाडी र तराई भूभागका धेरै स्थानमा तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । 

बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने क्रममा रहेकाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हो । 

भारीदेखि धेरै भारी वर्षाको कारण भूक्षय, बाढी, पहिरोको  जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने विभागले बताएको छ । 

“दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्छ,” विभागले भनेको छ, “त्यसैले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन अनुरोध छ ।”