अर्थ

२ प्रतिशतले मात्रै घट्यो गाडी भाडा



काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ ।

विभागले आज जारी गरेको सूचना अनुसार डिजेलको मूल्यमा प्रति लिटर ४३ रुपैयाँको गिरावट आएको छ। यसअघि डिजेलको औसत बजार मूल्य प्रति लिटर २३५‍.८३ रुपैयाँ रहेकोमा हाल घटेर १९२.८३ रुपैयाँ कायम भएको छ। यो गिरावट प्रतिशतका आधारमा करिब १८.२३ प्रतिशत हुन आउँछ।

वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ हुँदा स्वचालित रूपमा भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ । तर, इन्धनको मूल्य १८ प्रतिशतभन्दा बढीले घट्दा पनि विभागले सबै प्रकारका सवारी साधनमा २ प्रतिशत मात्र भाडा घटाउने निर्णय गरेको छ । 

नयाँ समायोजित भाडा दर:

१. यात्रुवाहक सवारी साधन : २ प्रतिशत (घटी)

२. पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी : २ प्रतिशत (घटी)

३. तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी : २ प्रतिशत (घटी)

यो नयाँ भाडा दर २०८३ आजै अर्थात् असार १८ गतेदेखि लागू हुने विभागले जनाएको छ। 

इन्धनको मूल्यमा भारी कटौती हुँदा पनि भाडा न्यून मात्रामा मात्र घटाइएपछि उपभोक्ता अधिकारकर्मीहरूले भने यसको विरोध गरेका बुधबार नै उपभोक्ताकर्मी माधव तिमल्सिनाले वैज्ञानिक भाडा दरको नाममा कम मात्रै भाडा समायोजन गर्न लागेको भन्दै विरोध गरेका थिए ।