अर्थ

३ मोटरसाइकलसहित १२ लाखको अवैध कपडा बरामद



रौतहट, २१ असार । रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ३ थान मोटरसाइकलसहित लाखौं मूल्य बराबरको अवैध भारतीय कपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहटबाट खटिई गएको मोबाइल गस्ती टोलीले जिल्ला माधनारायण नगरपालिका–१ दिपही इलाकाबाट अवैध रूपमा भन्सार छली भारतबाट नेपालतर्फ ३ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलसहित उक्त मूल्य बराबरको विभिन्न किसिमका कपडा बरामद गरेको हो ।

तस्करहरूले विआर ०५ यु ३३७१, विआर ०५ ए ८६६६, र विआर ०५ ई ३५६४ नम्बरको मोटरसाइकलमा राखी ल्याउँदै गरेको ११ लाख ९२ हजार, ५७० रुपैयाँ बराबरको कपडा गस्ती टोलीले बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरि अधिकारीले बताएका छन् ।

बरामद कपडा मोटरसाइकल सहित आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको एसपी अधिकारीले जानकारी दिएका छन् ।