अर्थ

बढ्यो घरजग्गा कारोबार



काठमाडौँ, २३ असार । लामो समय सुस्ताएको घरजग्गा कारोबार केही हदसम्म बढेको छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ सम्बन्धी प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा घरजग्गा क्षेत्रमा तुलनात्मक रूपमा उत्साहजनक देखिएको हो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल घरजग्गा कारोबारको संख्या ६.४२ प्रतिशतले बढेको छ, जबकि गत वर्ष यस्तो कारोबार ४.५२ प्रतिशतले घटेको थियो । राष्ट्रियस्तरको तथ्यांकले समीक्षा अवधिमा घरजग्गाको कुल कारोबार रकम १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा १ खर्ब ७ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो ।

तथ्यांकअनुसार वाग्मती प्रदेशमा घरजग्गाको राजीनामा कारोबार संख्या ३३.०१ प्रतिशतले बढेको छ, जुन सातै प्रदेशमध्ये सबैभन्दा उच्च हो । तर, यसविपरीत मधेस प्रदेशमा कारोबार संख्या ४.९७ प्रतिशतले घटेको छ । कारोबार भएको कुल क्षेत्रफलको आधारमा पनि मधेस प्रदेशमा ९.३३ प्रतिशतको कमी देखिएको छ, जबकि गण्डकी प्रदेशमा यस्तो क्षेत्रफल २४.५४ प्रतिशतले बढेको छ ।

घरजग्गाको यो बढ्दो चहलपहलले सरकारलाई भने राहत मिलेको छ । कारोबारमा आएको सुधारका कारण पुँजीगत लाभकर ३१.४२ प्रतिशतले वृद्धि भई सरकारी राजस्व संकलनमा २३.७२ प्रतिशतको सुधार आएको छ । बैंकिङ क्षेत्रबाट प्रवाह हुने घरजग्गा कर्जामा पनि ५.५५ प्रतिशतको सामान्य वृद्धि देखिएको छ ।