काठमाडौँ, २४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सब-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख राम केवल राय यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
उद्योगका लागि ल्याइएको काठहरूको सिलबन्दी अनुसार भए–नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिएर उनले घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सिरहाको कर्जन्हा नगरपालिका वडा नं. ४ स्थित मिर्चौया-बन्दीपुर सडक खण्डबाट नियन्त्रणमा लिएको हो ।
खानतलासीका क्रममा उनको साथबाट घुसको १२ हजार र स्रोत नखुलेको थप १ लाख ३३ हजार १२० रुपैयाँ गरी जम्मा १ लाख ४५ हजार १२० रुपैयाँ र एउटा मोबाइल समेत बरामद गरिएको छ । उनीमाथि हाल थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्