समाचार

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध



काठमाडौँ, ३० असार । पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी क्षेत्रमा आज बिहान खसेको पहिरोले लोकमार्ग अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार सोमबारदेखिको अविरल वर्षाका कारण सडकमा ठूलो पहिरो झरेपछि लोकमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा पोखरा, काठमाडौँ जाने सवारीसाधान चल्न सकेका छैनन् ।

काठमाडौँदेखि बागलुङको बुर्तिबाङ, रोल्पा, रुकुम, डोल्पालगायत पश्चिम नेपाल छुटेको यात्रीबस पनि सडकमै अलपत्र परेको प्रहरीले जनाएको छ । सडकमा पहिरोसहित ठूलो ढुङ्गा अडिदा सडक खुलाउन केही समय लाग्ने देखिएको छ ।